पुष्पलाललाई आफ्नै साथीहरुले ज्यादती गरेका थिए : अध्यक्ष ओली

सहयात्रा टिभी

काठमाडौँ । साउन ७, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठमाथि पार्टी भित्रका आफ्नै साथीहरुले समेत ज्यादती गरेको बताएका छन् ।

तस्वीर : रासस

पुष्पलाल स्मृति दिवसका अवसरमा आज कामनपा वडा नं १८ ताम्सीपाखाको पुष्पलाल चोकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अरु शासकहरुले पुष्पलालमाथि ज्यादती गरेपनि आफ्नै साथीहरुबाट समेत ज्यादती भएको बताएका हुन् ।

‘पुष्पलाल श्रेष्ठमाथि अरु शासकहरुले ज्यादती गर्थे गर्थे । तर आफ्नै साथीहरुले पनि ज्यादती गरेर पुष्पलालकाविरुद्ध पुष्पलालहरुले नै पार्टीमा भित्राएका अरु ठिटाहरुले (सम्भ्रान्त ठिटाहरुले) पार्टी कब्जा गर्ने नीति लिए ।’, अध्यक्ष ओलीले भने, ‘र पुष्पलाललाई पार्टीको महासचिवबाट हटाए । पुष्पलालले किन पार्टी खोलेका थिए ? उहाँले कसरी अगाडि बढाउने सोच्नु भएको थियो ? त्यो कुरालाई ख्याल नगरी उहाँलाई अलिकति पनि काम गर्न नदिएर २००७ सालको आन्दोलन सफल हुने बित्तिकै र पार्टी खुला हुने बित्तिकै हटाउने अभ्यास सुरु भयो ।’

२००८ सालबाटै पुष्पलाललाई पार्टीबाट हटाउने षड्यन्त्र शुरु भएको र २०१० सालको पहिलो महाधिवेशनबाट उनलाई विधिवत रुपमा हटाएर मनमोहन अधिकारीलाई अध्यक्ष बनाइएको ओलीले उल्लेख गरे ।

वैचारिक, क्रियाशिलता र संगठनात्मक हिसाबले पुष्पलाललाई कुनै पनि हालतमा महासचिवबाट हटाउन नहुने थियो भन्दै ओलीले षड्यन्त्रपूर्ण ढंगले हटाएको देखिएको उल्लेख गरे ।

अध्यक्ष ओलीले २००८ साल मंसिरमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि फेरि कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको बताए । कोइराला प्रधानमन्त्री भएका बेला २००८ देखि २०१२ सम्म पुरै चार वर्ष कम्युनिस्ट पार्टीले प्रतिबन्धित अवस्थामा काम गर्नु परेको ओलीले उल्लेख गरे ।

‘राणा शासनभन्दा कांग्रेसको शासन कम्युनिस्टलाई केही फरक परेन । त्यसकारण अखिल नेपाल किसान संघ, विद्यार्थी संघ बनाएर त्यसबेला कम्युनिस्टले काम गर्नु पर्‍यो ।’ ओलीले भने ।

प्रकाशित : 23 July, 2022

प्रतिक्रिया दिनुहोस्