भक्तपुरका सडक छेउमा रहेका जोखिमयुक्त रुख काटियो

सहयात्रा टिभी

भक्तपुर । साउन ९, भक्तपुरको सल्लाघारी क्षेत्रमा सडक छेउमा जोखिमपूर्ण रुपमा रहेका रुख काटिएका छन् ।

भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउमा रहेका सल्लाका २१ वटा रुख काटीएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी देवी शर्माले जानकारी दिइन्। विहान सडक बन्द गरेर रुखहरु कटान गरिएको हो।

आइतबार २४ घण्टाको अन्तरालमा दुई वटा रुख ढल्दा तीन जनाको ज्यान गएपछि सडक छेउमा रहेका रुख काटिएको उनले बताइन् ।

जोखिम रहेको भेनर जानकारी र गुनासो आएका ठाउँका रुखहरु तत्कालै काट्ने गरिएको भए पनि सल्लाघारीमा आइतबार भएको घटना दुःखद् भएको बताइन्। ‘हिजो दुःखद घटना भयो’ उनले भनिन्, ‘हामीले विज्ञटोली लगाएर रुखहरुको अध्ययन गरेपछि २१ वटा रुख काटेका छौँ।’

जिल्लाका अन्य ठाउँबाट पनि सडकका दुईतिरै खतरायुक्त रुखहरु भएको जानकारी आएको र कटानका लागि अध्ययन भइरहेको प्रजिअ शर्माको भनाइ छ।

आइतबार दिउँसो काठमाडौँबाट दूधपाटी हुँदै कमलविनायकका लागि छुटेको गरेको बा२ख ३५८४ नम्बरको बस र बा६१प ३९७८ नम्बरको स्कुटरलाई रूख ढलेर किच्दा बसमा रहेका दुईजना र स्कुटरमा रहेका एकजनाका ज्यान गएको थियो ।

प्रकाशित : 25 July, 2022

प्रतिक्रिया दिनुहोस्