बलात्कार आरोपमा कराँते प्रशिक्षक र उनका साथी पक्राउ

काठमाडौं । साउन १०, विराटनगरमा १९ वर्षीया एक नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा विराटनगरका एक नाम कहलिएका कराँते प्रशिक्षक र उनका साथी पक्राउ परेका छन्
छात्राको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका कराँते प्रशिक्षकलाई जिल्ला अदालत मोरङको आदेशमा थुनामा राख्न म्याद थप भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) शान्तिराज कोइरालाका अनुसार पक्राउ पर्नेमा कराँते प्रशिक्षक विनोद राउत र उनका साथी सुरज सुवेदी छन् ।
विराटनगर महानगरपालिका–३ निवासी ५० वर्षीय राउत र सुवेदीले नर्सिङ पढ्दै गरेकी एक छात्रालाई होटेलमा लगेर पटक–पटक बलात्कार गरेको जाहेरी आएको मोरङ प्रहरीले जनाएको छ । सुवेदीको साथ लिएर राउतले छात्रालाई होटेलमा लगेर बलात्कार गर्ने गरेको र त्यसको भिडियो समेत बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न गएको छ।
प्रहरीका अनुसार पीडकले ‘भिडियो सार्वजनिक गरिदिने भन्दै धम्क्याएर आफूमाथि पटक–पटक बलात्कार गरेको’ छात्राले बयान दिएकी छन् । ती छात्राले आफू अन्यायमा परेको भन्दै न्यायका लागि प्रहरीसमक्ष आग्रह गरेको बताइएको छ । एसपी कोइरालाका अनुसार थुनामा राखी थप अनुसन्धान भइरहेको छ ।