एसईईको नतिजा आज सार्वजनिक हुँदै

भक्तपुर । साउन ११, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार (आज) प्रकाशन गर्ने तयारी गरेको छ।
मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तु टुंगो लगाएको र नतिजा प्रकाशनको सबै तयारी पूर गरेको र आज बोर्डको बैठक बसेर नतिजा प्रकाशन गर्ने तयारी रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
वैशाख ८ गतेदेखि सञ्चालन भएको एसईईमा ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थी सहभागी छन ।
यसैबीच, ३५ अकं नल्याउने बिद्यार्थीलाई अवर्गीकृत गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले विद्यालय तहको कक्षा १–१२ सम्मका विद्यार्थीअब पास हुन प्रत्येक विषयमा ३५ नम्बर अनिवार्य ल्याउनुपर्नेछ।
एसईईको नतिजा नेपाल टेलिकमबाटै हेर्न मिल्ने
एसईईको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरिएको छ । नतिजा कल गरेर आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ ।
यसका लागि टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरेर नतिजा थाहा पाउन सकिने छ । यस्तै, मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर स्पेस दिएर छाडी अल्फाबेटसहितको सिम्बल नम्बर टाइप गरी १६०० मा पठाएर नतिजा हेर्न सकिने बताइएको छ ।
यसका साथै, नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेपछि मात्रै परीक्षाफल हेर्न सकिने बताइएको छ ।