पशुपति मन्दिर परिसरमा सङ्खुवासभाको रुद्राक्ष वृक्षारोपण
काठमाडौँ । साउन १२, प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथको मन्दिर वरपर सङ्खुवासभाको रुद्राक्ष वृक्षारोपण गरिएको हो ।
आज खाँदबारी नगरपालिका, काठमाण्डौ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त अभियानमा पशुपति क्षेत्र भित्र रूद्राक्षको वृक्षारोपण कार्यक्रमको आयोजना गरीयो ।
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाद्वारा संयुक्त सहभागीतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
केही दिन अगाडि खाँदबारी नगरपालिकाका मेयर थपलिया र काठमाण्डौ महानगरका मेयर शाहबीच भेटघाटपछि एकआपसमा सहकार्य गरी अगाडि बढ्ने सहमति भएको थियो । भेटघाट पछि नै पशुपति क्षेत्रमा सङ्खुवासभाको रुद्राक्षका बिरुवा रोप्ने कार्यक्रम तय भएको र अन्य विभिन्न कार्यक्रमहरुमा समेत सहकार्यमा गर्दै जाने खाँदबारी नगरपालिकाका मेयर थपलियाले जानकारी दिनुभयो । पशुपति क्षेत्रभित्र रुद्राक्षका बिरुवा रोप्नका लागि खाँदबारी नगरपालिकाले एक लाख रुद्राक्षका बिरुवा उपलब्ध गराउने मेयर थपलियाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा मन्त्री जीवनराम श्रेष्ठ र मेयर शाहले एकअर्का बीच सहकार्य गरेर अगाडि बढ्न ईच्छुक रहेको बताउनु भयो ।