अफ्रिकाको एङ्गोलामा दुर्लभ गुलाबी हिरा ‘द लुलो रोज’ फेला पर्यो

सहयात्रा टिभी

 

काठमाडौँ । साउन १३,  मध्यपश्चिमी अफ्रिकाको एङ्गोलामा केही उत्खननकर्मीले एउटा यस्तो गुलाबी रङ्गको अतिदुर्लभ हिरा फेला पारेका  छन् ।  जसलाई पछिल्लो ३०० वर्षको सबैभन्दा ठूलो गुलाबी हिरा मानिएको छ ।

१७० क्यारेटको गुलाबी हिरालाई लुलो खानीमा फेला परेको हो त्यसैले यसलाई हिरालाई ‘लुलो रोज’ नाम दिइएको अनुमान छ । लुलो खानी एङ्गोलाको उत्तर–पूर्वमा अवस्थित छ । यहाँको जमिनमा अत्यधिक हिरा छ भन्ने बिस्वास रहिआएको छ । त्यसैले अष्ट्रेलियन हिरा उत्खनन कम्पनी लुकापाले यहाँ लगानी गरेको छ ।

अब यसको कटिङ र पोलिसिङ बाँकी छ । यति गर्दा यसको तौल करिब ५० प्रतिशतसम्म घट्नेछ । यो हिराको सही मुल्यबारे अन्दाज लगाउन सकिनेछ । त्यसपछि यो हिरालाई अन्तरराष्ट्रिय स्तरमा टेन्डर गरेर बेचिनेछ ।

एङ्गोलामा यो हिरालाई अष्ट्रेलियन कम्पनीका उत्खननकर्मीले भेटेका हुन् । यो हिराको खबर पाएपछि एङ्गोलाको सरकार र उत्खनन कम्पनी असाध्यै खुसी भएका छन् । अहिलेसम्म थाहा भएको सबैभन्दा ठूलो गुलाबी हिरा दरिया–ए–नुर भारतमा भेटिएको थियो जुन ठूलो पत्थरबाट काटेर निकालिएको अनुमान छ ।

लुलोमा रहेको हिरा खानीमा भेटिएको यो पाँचौँ ठूलो हिरा हो । हाल फेला परेको द लुलो रोज टुए हिरा हो, अर्थात् प्राकृतिक रुपमा अत्यधिक शुद्ध र दुर्लभ । ३४ ग्राम तौल रहेको यो हिरा तीन सय वर्षयताकै सबैभन्दा ठूलो अतिदुर्लभ मानिएको छ । हाल यो शुद्ध रुपमा छ ।

 

 

प्रकाशित : 29 July, 2022

प्रतिक्रिया दिनुहोस्