जनार्दन शर्मा पुनः अर्थमन्त्री पदमा शपथ ग्रहण गर्दै

सहयात्रा टिभी

काठमाडौँ । साउन १५ , अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा पुनः अर्थमन्त्री पदमा शपथ ग्रहण गर्ने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

शर्मामाथि छानबिन गर्न बनेको संसदीय अध्ययन विशेष समितिले उहाँलाई दोषी ठहर गर्न नसके पछि समितिमा रहेका नेकपा एमालेका चार जना सांसदले फरक मत पनि राखेका थिए।

प्रष्ट सीसीटीभी फुटेज नदिएको, शर्मा र अनधिकृत व्यक्तिको कल डिटेल हेर्न नदिएको लगायतका विषयमा एमालेका सदस्यले फरक मत राखेका थिए ।

विवादित व्यक्तिलाई पुनः मन्त्री पद सुम्पिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना भइरहेको छ ।

यसैबीच नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । माओवादी केन्द्रले पदाधिकारी र अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै दोहोर्‍याउने विषयमा छलफल गर्न आज दिउँसो ३ बजे बैठक बोलाएको थियो । संसद् बैठक र अन्य कारणले आजको बैठक स्थगित गरिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

 

प्रकाशित : 31 July, 2022

प्रतिक्रिया दिनुहोस्