अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अल जवाहिरी मारिएको पुष्टि
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । साउन १७, अमेरिकाले अफगानिस्तानका अल कायदा नेता आयमान अल जवाहिरीको ड्रोन हमला गरी हत्या गरेको छ । अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।
अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको र त्यसमा परी अल जवाहिरीको मृत्यु भएको बाइडेनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
बाइडेनले भने, ‘जवाहिरीको हात अमेरिकी नागरिकहरू विरुद्धको हत्या र हिंसाको रगतले लतपतिएको थियो। अब जनताले न्याय पाएका छन् र यो आतंकवादी नेता अब जीवित छैनन्’ अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन् ।
अधिकारीहरूका अनुसार जवाहिरी सुरक्षित घरको बालकोनीमा रहेका बेला ड्रोनबाट दुईवटा मिसाइल प्रहार गरिएको थियो । जवाहिरीको परिवारका सदस्यहरू पनि घरमा रहे पनि कसैलाई चोटपटक नलागेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
राष्ट्रपति बाइडेनले ७१ वर्षीय अलकायदा नेता विरुद्ध निर्णायक हमलालाई स्वीकृत गरेको बताए । सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि अल–कायदाको नेतृत्व जवाहिरीले गरेका थिए । अमेरिकाले जवाहिरीलाई मोस्ट वान्टेड आतंकवादी मानेको थियो ।
राष्ट्रपति बाइडेनले जवाहिरीलाई एडनमा अमेरिकी युद्धपोत यूएसएस कोलमा सन् २००० मा आत्मघाती हमलाको लागि पनि दोषी देखाएका छन् । उक्त हमलामा परी १७ समुद्री सैनिक मारिएका थिए ।