सप्तकोसी पीडितको उद्धार कार्य जारी, प्रभावित परिवारलाई राहतको तयारी

काठमाडौं । साउन १९, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीहरु द्धारा कोसी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य बिहीबार बिहानैबाट सुरू गरिएको छ । प्रभावित क्षेत्रमा पानीको सतह कम हुँदै गएको र उद्धार तथा राहत बिहानैबाट जारी रहेको उदयपुरका प्रजिअ यादवले जानकारी दिए। सप्तकोशीको बाढीबाट प्रभावित परिवारलाई राहत तथा व्यवस्थापनका लागि सरकारले सरकारी, गैरसरकारी र व्यवसायीहरूसँग सहयोग मागेको छ ।
गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईका अनुसार प्राप्त राहत एकद्वार प्रणालीबाट संकलन गर्ने र एकद्वारबाटै वितरण गरिनेछ । संकलन गरिएका राहत उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा उनले तोकेको प्रतिनिधि तथा उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने प्राधिकरणले जनाएको छ ।
लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोशीको तटबन्ध फुट्दा नदी गाउँतिर पसेको थियो।