काठमाडौँमा मनाइयो ७७औँ हिरोशिमा–नागासाकी स्मृति दिवस

काठमाडौँ । साउन २२, दोस्रो विश्वयुद्धको क्रममा जापानको हिरोशिमा – नागासाकीमा अमेरिकाले पारमाणविक बम प्रहार गर्दा भएको नरसंहारको ७७औँ स्मृति दिवस मनाइएको छ ।
अफ्रो–एसियाली जनएकता सङ्गठन (आपसो) को आयोजनामा यही साउन २१ गते काठमाडौँमा एक कार्यक्रम गरी उक्त त्रासदीपूर्ण घटनाको स्मरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसालले आणविक हतियाररहित विश्वका लागि काम गर्नुपर्ने आवश्यकतामा जोड दिइन् ।
नयाँ पिँढीमा शान्तिप्रतिको लगाव भएको बताउँदै उनले अबको विश्वमा आणविक हतियारलाई निरुत्साहित गर्न मद्दत पुग्ने बताइन् । सो अवसरमा उनले जलवायु परिवर्तनको विषयलाई पनि प्राथमिकतामा राख्न आग्रह गरिन् ।
कार्यक्रममा सङ्गठनका पूर्व अध्यक्ष तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले मन्तव्य राख्दै नेपाल तीन आणविक राष्ट्रहरूको माझमा रहेको उल्लेख गरे ।
उनले भने, ‘भारतको हिमाचल प्रदेश, पाकिस्तानको बलुचिस्तान र चीनको तिब्बतमा आणविक केन्द्रहरू रहेकाले त्यसको ५०० वर्गकिलोमिटर क्षेत्रभित्र नेपाल रहेकाले हामी आणविक हतियारको बारेमा गम्भीर हुनुपर्दछ ।’
‘लुम्बिनीमा हिरोसिमा र नाकासाकीका मेयरलाई बोलाएर नेपालले प्रष्ट सन्देश दिएको छ’ उनले भने, ‘विश्वका द्वन्द्वरत देशहरूले नेपालमा आएर शान्तिवार्ता गरुन्, त्यस खालको वातावरण नेपालले बनाउनुपर्दछ ।’
कार्यक्रममा प्राडा मोतीलाल शर्मा भुसालले हिरोसिमा, नाकासाकी त्रासदीसित सम्बन्धित भर्चुअल कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि डा. मन्दिरा प्रधानाङ्गले टिप्पणी गरेकी थिइन् ।
संस्थाका अध्यक्ष कृपासुर शेर्पाको अध्यक्षता तथा चन्दा घिमिरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा महासचिव गोपाल पोखरेलले स्वागत मन्तव्य तथा विषयवस्तु प्रस्तुत गरेका थिए ।
संस्थाका सहअध्यक्षहरू प्राडा श्रीधर गौतम र प्राडा प्रदीपकुमार खड्कालगायतको आतिथ्य रहेको कार्यक्रममा मन्दिरा भण्डारीले “सहिदहरू” शीर्षकको कविता वाचन गरेकी थिइन् ।
अफ्रो–एसियाली जनएकता सङ्गठन (आपसो) को स्थापना जनवरी १, १९५८ मा इजिप्टको कायरोमा सम्पन्न एसिया, अफ्रिकाका जनस्तरका सङ्गठनको सम्मेलनले गरेको थियो । एसिया, अफ्रिका, ल्याटिन अमेरिकालगायतका झन्डै ९० भन्दा बढी देश सहभागी सो सङ्गठनमा प्रत्येक देशमा राष्ट्रिय समिति गठन भएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार नेपालका सङ्गठनहरू सन् १९५८ सालमै आपसोमा आबद्ध भइसकेको छ ।
युद्धको विरोध, असंलग्न परराष्ट्र नीतिको समर्थन, साम्राज्यवादको विरोधलगायतका विषयमा आपसोको समर्थन रहेको बताइएको छ ।
सन् १९४५ अगष्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेटमा अमेरिकी बमबर्सक विमानले हिरोशिमाको आकाशबाट पारमाणिविक बम ‘लिटिल बोय’ खसालेको थियो । बम खसेको निमेषमै हिरोसिमा खण्डहर बन्यो । हिरोसिमामा ३०० डिग्री तापक्रम र विकीरण फैलियो । लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भए । भौतिक संरचना ध्वस्त भए । हिरोसिमामा दुई लाख मानिसको मृत्यु भयो ।
हिरोशिमा तहसनहस भएको तीन दिनपछि अगष्ट ९ तारिखका दिन बिहान ११ बजेर २ मिनेट जाँदा नागासाकी सहरमा पनि अर्को पारमाणविक बम ‘फ्याट म्यान’ खसालियो । नागासाकी निवासीले पनि हिरोसिमाकै नियति व्यहोर्न बाध्य भए । लाखौँको मृत्यु भयो । हजारौँ घाइते भए । सहर क्षणभरमा खरानी बन्यो । विस्फोटपछि मानसिका शरीरका छाला खस्न थाले । नागासाकीमा मात्रै एक लाख ४० हजार बढी मानिसले ज्यान गुमाए । बम विस्फोट भएको तीन किलोमिटर आसपासको क्षेत्र खरानी भएको थियो ।