रौतहटमा नदी कटानले बस्ती डुब्ने खतरा

सहयात्रा टिभी

रौतहट । साउन २३, रौतहटको राजदेवी र माधवनारायण नगरपालिकामा वाग्मती र लालबकैया नदीमा आएको बाढीले कटान सुरु गरेपछि बस्ती डुबानमा पर्ने खतरा बढेको छ ।

वाग्मतीले राजदेवी र माधवनारायण र लालबकैयाले गौर–४ स्थित लालबकैया बानेश्वर मन्दिरको पश्चिमतर्फ कटान सुरु गरेको हो ।

कटानपछि बस्ती डुबानमा पर्ने भन्दै स्थानीय त्रासमा छन् । कटान गरेको क्षेत्रमा बोरा, बास राखेर अस्थायी रुपमा रोकथाम गर्न स्थानीय र सुरक्षाकर्मी खटिएका छन् ।

राजदेवी नगरपालिकाको वडा नम्बर १ र ६ मा पर्ने क्षेत्रमा वाग्मतीको बाढीले धमाधम कटान गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । ‘बाढी कम भएपनि कटान रोकिएको छैन । वाग्मतीले कटान सुरु गरेपछि तनाव थपिएको छ,’ उनले भने, ‘यसरी कटान गर्‍यो र रोकथाम गर्न सकिएन भने बाँधलाई असर गर्छ ।’ कटान रोक्न अहिले स्थानीय र सुरक्षाकर्मी खटिएको उनले सुनाए ।

कटान रोक्न वाग्मती लालबकैया नदी नियन्त्रण आयोजना परबानीपुरले ठूलो परिमाणमा बोरा पठाएको छ । अहिले बोरा र बाँस राखेर अस्थायी रुपमा रोक्ने प्रयास भइरहेको छ ।

नदी गहिरो भएकाले बोरा राख्न नसकेको स्थानमा बाँस राखेर कटान रोक्ने काम भइरहेको प्रजिअ शाहीले बताए । यता माधवनारायण नगरपालिका– ८ रजवाडा र ९ गहढो भगवानपुरस्थित बाँधभन्दा १० मिटर पूर्व वाग्मती नदीले तीव्र रुपमा कटान सुरु गरेको छ ।

प्रकाशित : 8 August, 2022

प्रतिक्रिया दिनुहोस्