सामाजिक सन्जालहरुमा भाइरल, नासुले अर्थमन्त्रीलाई पठाएको एसएमएस

सहयात्रा टिभी

काठमाडौं । साउन २४,  असमान ढंगले तलवमान निर्धारण गरिएको भन्दै असन्तुष्ट नायब सुब्बा (नासु)हरुले कर्मचारीको पोशाक लगाउन र कार्यालय जान मन नलागेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई एसएमएस पठाएका छन् ।

हालै सामाजिक सन्जालहरुमा भाइरल भइरहेको नयाँ तलबमानको विवरणलाई सच्याउन दबाब दिने उद्देश्यले उनीहरुले अर्थमन्त्री शर्मालाई आज एसएमएस पठाएका हुन् ।

उनीहरुले पठाएको एसएमएसमा लेखिएको छ, ‘मन्त्रीज्यू नमस्कार । म एकजना हेपिएको नासु परें । नयाँ तलबमानको जुन हल्ला आयो त्यसपछि न कर्मचारीको ड्रेस लगाउन मन लाग्छ, न कार्यालय जान ।’ उनीहरुले तलब बढाउँदा सबै तहको समान हुने गरि मात्रै बढाउन माग गरेका छन् ।

संघीय निजामती सेवा ऐनको मस्यौदामा नासुको पदपूर्तिका लागि विभेदपूर्ण व्यवस्था राखिएको भन्दै उनीहरुले त्यसलाई सच्याउनका लागि पहल गरिदिन पनि माग गरेका छन् ।

कतिपय नासुहरु आज कार्यालय नगएर विदामा बसेका नेपाल निजामती कर्मचारी युनियनका सचिवले जानकारी दिए।

प्रकाशित : 9 August, 2022

प्रतिक्रिया दिनुहोस्