दैलेख प्रशासनले ‘कुकुर कामी’ नाम सच्याउने प्रक्रिया शुरु
सहयात्रा टिभी
काठमाडौ । साउन २५, नागरिकतामा अपमानजनक नाम ‘कुकुर कामी’ सच्याइदिन भन्दै दैलेखको भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका कविराम कामीले जिल्ला प्रशासन कार्यालयमा दिनुभएको निवेदन अनुसार नाम सच्याउने प्रक्रिया जिल्ला प्रशासन कार्यालय दैलेखले शुरु गरेको जनाएको छ ।

गाउँमा आफू चिनिएको नाम कविराम कायम गरी नागरिकता पाऊँ भन्दै निवेदनमा उल्लेख गरेको र त्यस अनुसार बुझी पठाउन प्रहरी र भगवतीमाई गाउँपालिकालाई पत्राचार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।
नागरिकतामै ‘कुकुर कामी’ नाम लेखिएको कारण अपमान बोध गरेकोले उहाँलाई कविराम नाम कायम नागरिकताको प्रतिलिपि उपलब्ध गराइदिन भगवतीमाई गाउँपालिका ३ नं. वडा कार्यालयले गरेको सिफारिस र प्रमाणित अनुसूची पनि निवेदकले सँगै पेस गरेको जनाएको छ ।
कविरामले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा गाउँका उट्पट्याङ्ग गर्नेहरुले जिस्काएर भनेको भरमा प्रधानपञ्चले सिफारिस गरेको र त्यही आधारमा नागरिकता टोलीले दिएको नागरिकतामा ‘कुकुर कामी’ लेखेको र यसले आफूलाई अपमान बोध भएको उल्लेख गरेका छन् ।
त्यसबेला सिफारिस गर्ने र नागरिकता दिने टोलीले सावधानी नअपनाएका कारण नागरिकतामै अपमान बोधक नाम लेखिएको कुरा आमसञ्चार माध्यममा चर्चाको विषय बनेपछि अरु जिल्लामा पनि दलित समुदायका व्यक्तिहरुलाई कुकुर्नी कामी, कुत्ता बादी, फ्याउरो बादी नाममा नागरिकता दिएको समाचारहरु सार्वजनिक भएका थिए ।
गृह मन्त्रालयले सोमवार मात्रै पहिले वितरण गरिएको नागरिकतामा त्यस्ता अपमान बोध गराउने नामहरु सच्याउन गरेको परिपत्रको आधारमा सिफारिस गरेको भगवतीमाई गाउँपालिका–३ का वडाध्यक्ष मानबहादुर खड्काले बताउनुभयो ।


