चीनमा फैलियो ‘लंग्या हेनिपा’ भाइरस

सहयात्रा टिभी

काठमाडौँ । साउन २६, कोभिड महामारी नसकिँदै चीनमा अर्को ‘लंग्या हेनिपा’ नामक भाइरस फैलिएको छ । चीनमा हाल लंग्या भाइरसका दर्जनौँ केस फेला परेका कारण सतर्कताका लागि आह्वान गरिएको छ । हालसम्म चीनमा लंग्या हेनिपा भाइरसका ३५ वटा केस पुष्टि भइसकेका छन् ।

सन् २०१८ को अन्त्यमा नोभेल लंग्या हेनिपाभाइरस पहिलोपटक चीनको उत्तर–पूर्वी प्रान्त सान्डोङ र हेनानमा पत्ता लागेको थियो । तर। गत साता मात्रै वैज्ञानिकहरूले औपचारिक रूपमा पहिचानको पुष्टि गरेका हुन् ।

हेनिपा भाइरस जनावरबाट मानिसमा सरेको हुन सक्ने वैज्ञानिकहरूको प्रारम्भिक अध्ययन छ । चीनमा संक्रमण देखिन थालेपछि ताइवानका वैज्ञानिकले गरेको अध्ययनमा जंगली जनावरबाट मानिसमा सरेको पाइए पनि घरपालुवा जनावरमा पनि संक्रमण देखिएको छ ।

संक्रमण फैलिन थालेपछि दुई सय ६ वटा जनावरमा गरिएको परीक्षणमध्ये दुई प्रतिशत घरेलु बाख्रा र पाँच प्रतिशत कुकुरमा भाइरस भेटिएको थियो । चीन, सिंगापुर र अस्ट्रेलियाका वैज्ञानिकले गत साता ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशन गरेको रिपोर्टमा भाइरसको प्रारम्भिक अनुसन्धानबारे उल्लेख गरिएको थियो ।

अधिकांश संक्रमित किसान र कारखानाका मजदुर

यो भाइरस मानिसमा एकअर्कामा सर्ने वा नसर्ने भन्ने विषय अस्पष्ट छ । हालसम्म देखिएका संक्रमितमध्ये अधिकांश किसान र कारखानाका कामदार छन् । नौजनामा कन्ट्रयाक्ट ट्रेसिङ गर्दा परिवारका सदस्य संक्रमित रहेका व्यक्ति संक्रमित रहेको पाइए पनि अझैसम्म यकिन गर्न नसकिएको विज्ञले बताएका छन् ।

अध्ययनमा सहभागी एक विज्ञले भनेका छन्, ‘अहिले हामीले एकदमै कम संख्यामा मात्र सर्वेक्षण गरेकाले मानिसबाट मानिसमा सर्ने विषयमा यकिन गर्न सकिरहेका छैनौँ ।’ वैज्ञानिकहरूले भाइरसको जिनोम अध्ययन गर्दा हेनिपा भाइरस रहेको पुष्टि गरेका हुन् । यो भाइरसमा जुनोटिक आरएनए भाइरसहरूमध्ये हेन्ड्रा भाइरस र निपाह भाइरसको मिश्रण छ ।

प्रकाशित : 11 August, 2022

प्रतिक्रिया दिनुहोस्