नेवारी मौलिकता  सँगै आम नेपालिको शक्तिवद्र्धक  क्वाँटी  एक परिकार

सहयात्रा टिभी

काठमाडौं । साउन २६,  क्वाँटी’ खासगरी जनैपूर्णिमामा आम नेपालिले शक्तिवद्र्धकको रुपमा खाने गरिन्छ । फरक-फरक गेडागुडीको मिश्रणबाट बनेको क्वाँटी स्वादिलो हुनुका साथै शक्तिवद्र्धक नेवारी परिकारमध्ये एक हो ।


चना, मस्याम, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर कम्तीमा पनि ९ प्रकारको गेडागुडी मिसाएपछि क्वाँटी बन्छ । यस्ता गेडागुडीको मिश्रण गर्नुअघि यसलाई टुसा उम्रने गरी पानीमा भिजाउनुपर्छ । चार दिनअघि भिजाएर भोलिपल्ट पानीबाट निकालेर सफा भाँडामा हावा नछिर्ने गरी छोपेर राख्ने वा मलमलको कपडामा बाँधेर तीन दिन झुण्डाइदिनुपर्छ ।

यसरी राख्दा गेडागुडीमा राम्ररी टुसा उम्रन्छ । टुसा उम्रीएको गेडागुडी लाई विभिन्न मसलाहरु जस्तै गरम मसला, प्याज, तोरीको तेल, जिरा धनियाँको पाउडर, गेडा जिरा, नुन, बेसार, लसुन अदुवाको पेस्ट, ज्वानो, रातो धुलो खुर्सानी, मसिनो गरी काटिएको हरियो धनियाँ आदि मिसाएर पकाएको झोल तरकारी नै क्वाँटी हो ।

‘क्वाँटी’ शब्द नेपाल भाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जसअनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप हुन्छ । क्वाँटीले वर्षभरिको थकान मेटाएर ऊर्जा दिने समेत विश्वास गरिन्छ । क्वाँटी पकाउने सबैको आ-आफ्नै तरिका हुन्छ । तर नेवारी शैलीमा खास विधि बाट यसलाइ पकाउने गरेको पाइन्छ । नेवारी भाषाकै शब्द क्वाँटीले छ्रुट्टै मौलिकता वोकेको पाइन्छ । नेवारी समुदायमा जनैपूर्णिमाका दिन अनिवार्य पकाउने र खाने चलन परापुर्वकाल देखिकै हो ।

 

प्रकाशित : 11 August, 2022

प्रतिक्रिया दिनुहोस्