युक्रेनमा थप बम आक्रमण, संयुक्त राष्ट्र सङ्घले सैन्य गतिविधि बन्द गर्न आह्वान
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । साउन २७, युक्रेनको जापोरिजा परमाणु ऊर्जा केन्द्रमा थप बम आक्रमण भइरहेपछि संयुक्त राष्ट्र सङ्घले आणविक भट्टी वरपर सैन्य गतिविधि बन्द गर्न आह्वान गरेको छ। यो परमाणु ऊर्जा केन्द्र युरोपकै सबैभन्दा ठूलो हो ।
आक्रमणमा रुस र युक्रेन दुवैले एक अर्कालाई आरोप लगाएका छन् । रुसले सबैभन्दा खराब आणविक दुर्घटना निम्त्याउन खोजिरहेको युक्रेनको आरोप छ यो परमाणु ऊर्जा केन्द्र गएको मार्चयता रुसको कब्जामा छ। जी सेभेन राष्ट्रहरूले यो केन्द्र युक्रेनलाई फिर्ता गर्न रुसलाई भनेका छन् ।
राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले जापोरिजा वा अरू कुनै पनि आणविक भट्टीमा आक्रमण हुँदा भयावहस्थिति उत्पन्न हुने भन्दै तत्काल सैन्य गतिविधि अन्त्य गर्न आह्वान गर्नुभएको हो ।
राष्ट्र सङ्घीय सुरक्षा परिषद्को बैठकमा यही विषयमा छलफल समेत भइरहेको बीबीसीले जनाएको छ । राष्ट्र सङ्घको परमाणु निगरानी निकायका प्रमुख राफाएल ग्रोसीले संवेदनशील घडी आएको बताउनु भएको छ । यो आणविक भट्टीमा कम्तीमा १० पटक आक्रमण भइसकेको छ ।