‘सुपर अर्थ’ नासाले भर्खरै पत्ता लगायो नयाँ ग्रह

काठमाडौँ । साउन २९, ‘सुपर अर्थ’ अमेरिकी स्पेश एजेन्सी (नासा) ले नयाँ ग्रह पत्ता लगाएको छ । जुन पृथ्वीभन्दा ४ गुणा ठूलो छ । नासाले पत्ता लगाएको भनिएको ग्रह आकाश गंगाको बाहिरी सतहमा रहेको छ ।
वैज्ञानिकहरुले यसको नाम ‘रस ५०८ बी’ राखेका छन् । यसलाई उनीहरुले ‘सुपर अर्थ’ पनि भन्ने गरेको जानकारी प्राप्त भएको छ ।
सौर्यमण्डल भन्दा बाहिर रहेको ग्रहलाई ‘एक्सोप्लानेट’ भन्ने गरिन्छ । त्यसकारण ‘रस ५०८ बी’ पनि एउटा एक्सोप्लानेट हो । यो ‘रस ५०८ बी’ एक्सोप्लानेट पृथ्वीभन्दा ३७ प्रकाश वर्ष टाढा छ । नासाका अनुसार यो नयाँ ग्रहले एउटा यस्तो तारालाई परिक्रमा गर्छ जसको द्रव्यमान ९भार० सूर्यको पाँच भाग बराबरको छ ।
नयाँ ग्रहले परिक्रमा गर्ने ताराको नाम भने रेड ड्वार्फ हो । यो सूर्यको तुलनामा धेरै चम्किलो, रातो रङ भएको चिसो तथा कम प्रकाश भएको तारा हो । सुपर अर्थले यसलाई ५० लाख किलोमिटर टाढाको दूरीबाट यसलाई परिक्रमा गर्ने गर्छ । सौर्यमण्डलबाट सबैभन्दा नजिकको ग्रह बुध सूर्यभन्दा ६ करोड किलोमिटर टाढा छ । यसकारण पनि सुपर अर्थमा जीवन हुनसक्ने सम्भावना रहेको वैज्ञानिकहरुले जानकारी दिएका छन् ।
सुपर अर्थ र रेड ड्वार्फबीचको दूरी धेरै कम भएका कारण सुपर अर्थलाई रेड ड्वार्फको परिक्रमा गर्न जम्मा १० दशमलव ८ दिनको समय लाग्छ । अर्थात यहाँ ११ दिनको १ वर्ष हुन्छ । पृथ्वीमा भने एक वर्ष ३ सय ६५ दिनको हुन्छ । नासाका अनुसार ‘रस ५०८ बी’ को सतह पृथ्वीभन्दा कडा हुनसक्छ । यसको कक्ष अण्डाकार भएकोले तारासँग यसको सधैँ समान दूरी रहँदैन । यस्ता ग्रहहरुले आफ्नो सतहमा पानी जमाएर राख्न सक्छन् । तर, यहाँ पानी अथवा जीवन छ, छैन भन्ने बारेमा भने थप अनुसन्धान गर्नुपर्ने जनाएको छ ।