आउँदो चुनावमा कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन लागी परौ : देउवा

सहयात्रा टिभी

काठमाडौँ । साउन ३०, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउन लागि पर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले चुनावलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित पालिकाका जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन आज एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आउँदो चुनावमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले सत्तारूढ गठबन्धन मिलेर चुनावमा गएकाले पालिका चुनावमा पार्टीले सफलता हात परेको स्पष्ट पार्दै प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा पनि सत्तारूढ गठबन्धनले मिलेर चुनाव लड्ने तयारी गरिरहेको बताए ।

अब आउँदो मङ्सिर ४ गते हुने आम चुनावलाई सफलतापूर्वक सम्पन्न गर्ने र कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन तपाईँहरूको ठूलो भूमिका हुनेछ भन्ने मैले विश्वास लिएको छु । २०७४ सालको प्रदेश र प्रतिनिधसभा निर्वाचनमा एक्लै लड्दा कांग्रेसले राम्रै मत पाएपनि अरुले गठबन्धन गरेका कारण जित्न नसकेको स्मरण गरे । देउवाले अघि भने, ‘स्थानीय चुनावमा पनि तालमेल गरेर सफलता पायौं, फेरि गठबन्धन गरेर सफलता हासिल गर्नुछ ।’
गठबन्धनमा रहेका दलहरुको जनाधार हेरेर तालमेलको गृहकार्य गर्न कार्यदल गठन गरिसकेको उनले बताए । कांग्रेस सभापति देउवाले अघि भने, ‘बढी सिटमा उम्मेदवारी दिने भन्दा पनि बढी सिट जित्नु ठूलो हो ।’

उनले पार्टीमा कसैलाई पनि काखापाखा र भेदभाव नगर्ने पनि बताए ।

 

प्रकाशित : 15 August, 2022

प्रतिक्रिया दिनुहोस्