कांग्रेस सांसद प्रदीप गिरिको निधन
काठमाडौं । भदौ ५, नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा उनको निधन भएको हो। ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको शनिबार राति ९:३० बजे निधन भएको नेपाली कांग्रेसले जनाएको छ।
केही हप्तापहिले मात्र उनी भारतमा घाँटीको क्यान्सरको उपचार गरेर साउन दोस्रो साता नेपाल फिर्ता भएका थिए। त्यसपछि पनि स्वास्थ्यमा समस्या आएपछि साउन ९ गते उनी मेडिसिटीमा भर्ना भएका थिए।
स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आईसीयुबाट दुई दिनपहिले भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो। तर स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि परिवारको आग्रहमा गिरिलाई शुक्रबार भेन्टिलेटरमा आईसीयूमा सारिएको थियो। सोही अवस्थामा उनको शनिबार राती निधन भएको हो।
प्रतिनिधिसभा सदस्य समेत रहेका गिरिको निधन भएको नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले शनिबार राती नै एक शोक विज्ञप्ति जारी गरेर जानकारी दिए।
गिरिको निधनप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । शोक सन्तप्त परिवारजनप्रति संवेदना प्रकट गरेको छ।
गिरिको अन्तिम श्रद्धाञ्जलीको समय र स्थान पनि पार्टीले तोकेको छ।
तोकिए अनुसार २०७९ साल भाद्र ५ गते, आइतबार विहान ९:०० बजे देखि ११:०० बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिनेछ।
त्यस्तै विहान ११:३० बजे देखि २:०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, सानेपा, ललितपुरमा पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिनेछ। तत्पश्चात अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने विज्ञप्तिमा उल्लेख छ।