मनोनयन हुनुभन्दा पहिले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त
काठमाडौं । भदौ ५, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा मनोनयन हुनुभन्दा पहिले पदमा नरहेको सुनिश्चितता हुनु पर्ने बताएका छन्।
काठमाडौंमा आज पत्रकारहरुसँगको अन्तरक्रियामा प्रमुख आयुक्त थपलियाले असोज २ गते मनोनयन हुने भएकाले त्यसको अघिल्लो दिन उनीहरुले पदमा नरहेको सुनिश्चितता गर्नु पर्ने बताएका हुन्।
उनले भोलिदेखि निवार्चन आचारसंहितामा छलफल हुने पनि जानकारी दिए। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा कहिले देखि र कस्तो आचारसंहिता लागू गर्ने भन्ने विषयमा छलफल भएर निर्णय हुने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।
सञ्चारमाध्यमले नै आचारसंहिता उल्लंघन गरेको देखिएकाले यसमा सचेत हुन उनले आग्रह पनि गरे। नियमित आवश्यकताले निर्वाचन मिति तोकिएको उल्लेख गर्दै उनले निर्वाचनका लागि पर्याप्त समय भने नपाएको बताए । ‘नियमित आवश्यकताले निर्वाचन मिति तोकिएको हो।’ उनले भने, ‘हामीले पर्याप्त समय नपाएकै हो। तर अर्जुन दृष्टि लाएर काम गरिरहेका छौँ।’
थपलियाले निर्वाचनका लागि सरकारबाट सुरक्षा प्रत्याभुति खोजेको बताए। साथै, उनले निर्वाचन सुरक्षा बलले नभइ आत्मबलले उल्लेख गर्दै सम्भावित घटना पहिचान गरी तहगत रुपमा स्वच्छ निर्वाचन गर्न एकीकृत सुरक्षा नीति तय गरिएको बताए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले अबको निर्वाचनमा कहिँपनि दोहोरिएर मतदान नहुने गरी कारबाही प्रक्रिया अगाडि बढाइने बताए। उनले जहाँ त्यस्ता घटना हुन्छ, त्यहीँ कारबाही हुने बताए ।