अब किसान र गरिबलाई सस्तो व्याजमा विनाधितो ऋण दिनको लागि लघुवित्त कोष स्थापना अन्तिम चरणमा
काठमाडौं । भदौ ६, किसानलाई सस्तो व्याज र सहज रूपमा कर्जा दिनको लागि स्थापना गर्न लागिएको ५ खर्ब रुपैयाँ बराबरको लघुवित्त कोष स्थापना अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षको बजेट मार्फत ल्याइएको सो कार्यक्रम कार्यान्वयनका लागि अर्थ मन्त्रालयले कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याउन लागेको जानकारी प्राप्त भयो।
किसानलाई आवश्यक पर्ने कृषि कर्जा किसानको घरदैलोमा सरल र सहज रूपमा उपलब्ध गराउन रु ५ खर्ब बराबरको कर्जा प्रवाह गर्न एक लघु वित्त कोष स्थापना गरिनेछ ।
कोषमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा विपन्न क्षेत्र तथा कृषि उत्पादन क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जातर्फको रकम लगानी गर्नुपर्ने व्यवस्था मिलाएको छ । उक्त कोषमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट समेत निश्चित रकम लगानी गर्ने व्यवस्था मिलाइने उल्लेख गरीएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको बुँदा नम्बर ३२ मा ५ खर्ब रुपैयाँ बराबरको लघुवित्त कोष स्थापना गर्ने उल्लेख थियो । सोही व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालय कोष सञ्चालन कार्यविधिलाई अन्तिम रूप दिने तयारीमा जुटेको हो ।