बन्दका कारण विभिन्न स्थानका जनजिवन प्रभावित बन्दै दाङमा आगजनी

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, आज बन्दकाकारण विभिन्न स्थानका जनजिवन प्रभावित बन्दै , काठमाण्डौ उपत्यकामा सडक अवरोध गराउँदै हिँडेका १८ जना पक्राउ परेका छन् ।

सडक र गाडी चलाउन समस्या नहोस् भन्नका लागि सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ । अहिले उपत्यकामा सामान्य रुपमा गाडी चलिरहेका छन् ।

दाङमा बन्दको आंशिक प्रभाव परेको छ । त्यहाँ छोटो दूरीका गाडी चलिरहेका भए पनि लामो दूरीका गाडी चल्न सकेका छैनन् । बन्दका कारण घोराही, तुलसीपुर, लमही, भालुवाङ मुख्य बजार बन्द छन् ।बन्दकर्ताले बबई खोलाको पुल नजिक बिहानै घोराहीबाट लमहीका लागि छुटेको रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी गरेका छन् । आगजनीका कारण टिपरको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ । बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् ।ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले एमसीसी सम्झौता खारेज र महँगी नियन्त्रणलगायतका माग राखेका छन् ।

प्रकाशित : 23 August, 2022

प्रतिक्रिया दिनुहोस्