अन्तर्राष्ट्रिय समितिका बेन्जामिन सहित नेपाली तीन सदस्यीय टोली जावेदको निम्तोमा भारत प्रस्थान

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, चर्चित भारतीय गीतकार जावेद अख्तरको निम्तोमा संगीतकार सुरेश अधिकारीसहितको नेपाल संगीत रोयल्टी समाजको तीन सदस्यीय टोली मंगलबार भारत प्रस्थान गरेको छ ।

उक्त छलफलमा रोयल्टी व्यवस्थापनबारेको अन्तर्राष्ट्रिय समिति सीआईसीएसीका एसिया प्रशान्त क्षेत्र प्रमुख बेन्जामिन एन जी समेत सहभागी हुने भएका छन् ।

भारतको संगीत रोयल्टी संकलन संस्था (आईपीआरएस) का अध्यक्ष समेत रहेका अख्तर र नेपाली टोलीबीच वर्न महासन्धिद्वारा संरक्षित गरिएको स्रष्टा, कलाकारको अधिकारलाई कार्यान्वयन गराउनेबारे छलफल हुने भएको छ । नेपाली टोलीमा महासचिव बद्री पाण्डे र सूचना अधिकृत मंगेश दत्त समेत सहभागी छन् ।

अगस्ट २३ देखि २७ सम्म हुने कार्यक्रममा आईपीआरएसले प्रयोग गरिरहेको प्रविधि सम्बन्धमा अवलोकन, छलफल, प्रशिक्षण र आपसी सहयोगको सम्बन्धमा सहमति हुने जनाइएको छ ।  यस भ्रमणबाट अन्तर्राष्ट्रिय क्षेत्रमा प्रयोग भइरहेको नेपाली गीत संगीतको रोयल्टी व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल हुनेछ,’ समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित : 23 August, 2022

प्रतिक्रिया दिनुहोस्