फुटपाथ व्यापारीले ३ बुँदे माग राख्दै महानगरपालिकाको कार्यालयमा नाराबाजी

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । उनीहरुले ३ बुँदे माग एक हप्ताभित्र पूरा नगरे अझै चर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

काठमाडौं महानगरपालिकाले केही समयता बानेश्वर लगायतका क्षेत्रका फुटपाथमा व्यापार बन्द गराएको छ । महानगरले फुटपाथ व्यवस्थापनको क्रममा साना व्यवसायीलाई हटाएको भन्दै फुटपाथमा व्यवसाय गर्ने व्यवसायीले महानगरपालिका प्राङ्गणमा नाराबाजी गरेका हुन् ।

उनीहरुले मेयर बालेनलाई भेटेर ज्ञापन पत्र बुझाउन खोजेपनि वास्ता नगरेको भन्दै नाराबाजी गरेका हुन् । उनीहरुले हामी बाँच्न पाउने अधिकार सुनिश्चित गर, रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गाँसबासको ग्यारेन्टी गर, श्रमको सम्मान गर, नगर प्रहरीको अत्याचार बन्द गर, विना विकल्प धोका दिन पाइदैन जस्ता नारा लगाएका छन् ।

स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा ज्ञापन पत्र बुझाउन गएका उनीहरुले ३ बुँदे माग एक हप्ताभित्र पूरा नगरे अझै चर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने, सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने, प्रशासनको तर्फबाट भइरहेको अमानवीय व्यवहार बन्द गरी यसअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ ।

 

प्रकाशित : 23 August, 2022

प्रतिक्रिया दिनुहोस्