माथिल्लो कर्णालीको स्वामित्व भारतीय कम्पनीले फ्रान्सेली कम्पनीलाई सुटुक्क बेच्यो
काठमाडौं । भदौ ८, आयोजना हात पारेको ८ वर्षपछि भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)ले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको आधा स्वामित्व फ्रान्सेली कम्पनीलाई सुटुक्क बेच्ने सहमति गरेको छ ।
जीएमआरले सन् २०१४ मा यो परियोजना हात पारेलगत्तै ईडीएफले आयोजनाको स्वामित्व लिन खोजेको थियो । २०१७मा पनि यसबारे छलफल भएको थियो । तर, ईडीएफले ५१ प्रतिशत स्वामित्व मागेपछि ‘डिल फाइनल’ हुन सकेको थिएन । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बखत यो आयोजना जीएमआरलाई दिइएको थियो ।
तर, कम्पनीले आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्न नसक्दा आयोजना नै अन्योलमा छ । बारम्बार म्याद थप्दा पनि लगानी जुटाउन नसकेपछि जीएमआर ईडीएफलाई स्वामित्व बेच्न तयार भयो ।
लगानी बोर्ड नेपालले भने माथिल्लो कर्णालीमा ईडीएफको संलग्नताबारे आफूलाई जानकारी नरहेको दाबी गरेको छ । यसबारे बोर्डलाई कुनै जानकारी नरहेको बोर्डका प्रवक्ता अमृत लम्साल बताउ छन् ।
आयोजना निर्माण गर्न सन् २०१४ मा नै परियोजना विकास सम्झौता (पीडीए) पनि भइसकेको छ । जीएमआरले लगानी जुटाउन दुई पटक वैधानिक रुपमै थप म्याद पनि पाइसकेको छ । पछिल्लो तीन वर्षमा म्याद थपबारे कुनै निर्णय नै नभए पनि लगानी बोर्डले कम्पनीलाई चुपचाप समय दिँदै आएको थियो ।