युक्रेनी रेल्वे स्टेशनमा रुसी रकेट आक्रमण, २२ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । भदौ ९, रुसले युक्रेनको रेल स्टेशनमा रकेट आक्रमण गर्दा २२ जनाको मृत्यु भएको छ।

रुसको कब्जामा रहेको डोनेट्स्कको पश्चिममा अवस्थित च्यापलेन शहरमा यात्रुबाहक रेलमाथि रकेट आक्रमण भएको बीबीसीले जनाएको छ। रकेट आक्रमणसँगै रेलमा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले उक्त आक्रमणमा करिब ५० जना घाइते भएको जानकारी दिएका छन्। रुसले भने आक्रमण सम्बन्धमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

२४ अगस्टमा युक्रेनले स्वतन्त्रता दिवस मनाउने गरेको छ। स्वतन्त्रता दिवसकै दिन रुसी सेनाले युक्रेनी यात्रुबाहक रेलमाथि रकेट आक्रमण गरेका छन्। साथै, युक्रेनमाथि रुसले आक्रमण थालेको पनि बुधबार ६ महिना पुगेको छ।

अमेरिकाले सतर्कता अपनाउन चेतावनी दिएसँगै युक्रेनले स्वतन्त्रता दिवसको कार्यक्रमसमेत स्थगित गरेको थियो। पछिल्लो ६ महिनादेखि जारी युद्धका क्रममा ९ हजार युक्रेनी सेनाको मृत्यु भएको छ। साथै आधा जनसंख्या देश छाडेर अन्यत्रै पलायन भएको छ। यता रुसी सेनाको २० भन्दा बढी कमान्डर मारिएका छन्।

प्रकाशित : 25 August, 2022

प्रतिक्रिया दिनुहोस्