पार्टी सभापति देउवाको गठबन्धन टिकाउने मुख्य चासो, सिट बाँडफाटमा तीन थरी धारणा
काठमाडौं । भदौ ९, मंसीर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्तारुढ दलमा तालमेलको भागवण्डा गर्दा कांग्रेसभित्र तीन विचार देखिएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले ८० सिटको हाराहारी कांग्रेसका उम्मेदवार हुने गरी सहमति गर्ने पक्षमा देखिएका छन्।
सभापति देउवाको मुख्य चासो गठबन्धन टिकाउनु रहेको छ । त्यसका लागि देउवाले बढी सिट दाबी नगरी कांग्रेस लचिलो हुनुपर्ने पक्षमा छन् । कांग्रेस लचक हुने संकेत उनले केही दिन कांग्रेसकै कार्यक्रममा गरेका थिए ।
उम्मेदवारको आकांक्षी रहेका नेता कार्यकर्तालाई कांग्रेसले दाबी गरे अनुसारकै क्षेत्र प्राप्त नहुने अप्रत्यक्ष रुपमा जानकारी त्यसै बेला गराइसकेका थिए । सभापति देउवाको बोलीलाई सुदूरपश्चिम सभापति वीरबहादुर बलायर समर्थन गर्छन् । निर्वाचित हुने गरि तालमेलको मोडालिटी बनाउनुपर्ने र प्राप्त क्षेत्रमा जित निकाल्नै पर्ने दबाब गठबन्धनलाई भएको उनी बताउँछन् ।
पार्टी भित्रको असन्तुष्टिले गठबन्धनको परिणाममा असर पर्ने तथ्य महामन्त्री गगन थापाले सत्ताघटकको कार्यदलमा सुनाएका छन् । कांग्रेसका उम्मेदवार कम हुँदा त्यसको नकरात्मक असर परिणाम पर्ने उनको तर्क छ । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलमा कांग्रेसको लागि १०० क्षेत्रलाई बटमलाईन बनाउनुपर्ने प्रस्ताव राखेको उनले सुनाए ।
तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलका संयोजक समेत रहेका नेता कृष्णप्रसाद सिटौला ८८ सिटको लागि दाबी सत्तारुढ कार्यदलमा गरेका छन् । प्रधानमन्त्री देउवा र महामन्त्री थापाको भन्दा भिन्न प्रस्ताव उनको छ ।