राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक टेबुल हुने
काठमाडौं । भदौ १२, राष्ट्रिय सभाको आइतबार बस्ने बैठकमा नागरिकता विधेयक टेबुल हुने भएको छ।
राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाबाट पारित भएर आएको नागरिकता विधेयक टेबुल गर्ने उल्लेख छ। बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन्।
यसअघि संघीय संसदको दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उक्त विधेयक पठाइएको थियो। तर राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण नगरी सन्देशसहित पुन: प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन्।
उक्त विधेयक प्रतिनिधि सभाले कुनै पनि परिवर्तन नगरी पारित गरेर राष्ट्रिय सभामा पठाएको हो। राष्ट्रिय सभाले पारित गरेपछि पुन: प्रमाणीकरणका लागि पठाउने छ। संविधानले दोस्रो पटक फिर्ता गर्ने अधिकार राष्ट्रपतिलाई नदिएकाले यो विधेयक प्रमाणीकरण गर्नु पर्ने बाध्यता छ।
यस्तो छ सम्भावित कार्यसूची
यस्तै सचिव फुयालले नै प्रतिनिधिसभमा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बीमा विधेयक, २०७५’, ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश र राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची छ ।
यस्तै राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘शपथसम्बन्धी विधेयक, २०७८’, ‘तथ्याङ्क विधेयक, २०७६’, ‘स्ट्याण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६’ का बारेमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ ।
बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराइनेछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ माथि प्रतिनिधिसभाबाट भएको संशोधन माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।