प्रदेश १ सभाको पहिलो कार्यकालको अन्तिम बैठक आज बस्दै
काठमाडौँ । भदौ १७, प्रदेश १ प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक आज बस्दैछ । सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएको जनाएका छन् । सो बैठकपछि आजै राति १२ बजेबाट अधिवेशन अन्त्य हुने जानकारी दिए ।
प्रदेशको नामको विषयमा छलफल नै नभई प्रदेश १ सभाको पहिलो कार्यकाल सकिएको छ । पाँच वर्षे पहिलो कार्यकालमा स्थायी राजधानी भने घोषणा भएको थियो ।
प्रदेश १ सरकारले १० औं तथा पहिलो संसदको अन्तिम बजेट अधिवेशनमा नामको विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरेको थियो । तर पहिचान कि भूगोलका आधारमा नाम राख्ने भन्ने विषयमा सहमति नजुटेपछि नामाकरणको विषयले प्रदेशसभामा प्रवेश नै पाएन ।
मंसिर ४ गतेका लागि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेका कारण प्रदेशसभाबाट नाम आउने सम्भावना नरहेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो बताउँछन् । प्रदेशको नाम अब आउने प्रतिनिधिले टुङ्गो लगाउने उनको भनाइ छ ।
प्रदेश सरकारले शुक्रबारबाट अधिवेशन अन्त्य गर्ने निर्णय भदौ १२ गते नै गरेको थियो । प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ माथि सोही समितिले तयार पारेको प्रतिवेदन पेस हुनेछ । अन्त्यमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त दशौं अधिवशेन अन्त्य भएको पत्र पढेर सुनाउनेछन् ।