प्रचण्ड गोरखा १ बाट पनि सिफारिस, २ मा नारायणकाजी श्रेष्ठ
काठमाडौं । भदौ १७, चितवनाबाट निर्वाचन लड्तने यारी गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम गोरखा १ बाट पनि सिफारिस भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उक्त क्षेत्रबाट प्रचण्डसहित अन्य २ जनाको नाम सिफारिस भएको छ। हरिराज अधिकारी र सुशीला सिंखडाको नाम प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस भएको माओवादीले जनाएको छ । अधिकारी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
गोरखाको क्षेत्र नम्बर २ बाट भने नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपानेका नाम प्रतिनिधि सभाको उम्मेदवारमा सिफारिस भएको छ । २०७४ को चुनावमा वाम गठबन्धनबाट नारायणकाजी यो क्षेत्रमा पराजित भएका थिए ।
नेपाली कांग्रेसको सर्मथनमा बाबुराम भट्टराईले उक्त क्षेत्रबाट जित हात पारेका थिए । नारायणकाजी पछि राष्ट्रिय सभामा निर्वाचनमा निर्वाचित भएका थिए । हाल उनी राष्ट्रिय सभामा रहेका छन् । गोरखाबाट प्रतिनिधि सभामा चुनाव लड्न उनी राष्ट्रिय सभाबाट राजीनामा दिएर जाने तयारीमा छन् ।