सेयर बजारमा सामान्य गिरावट, सातको अन्तिम ७० करोड मात्र कारोबार
काठमाडौं । भदौ १७, सातको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १.६७ अंक (०.०८ प्रतिशत) ले गिरावट भएर १९७०.६२ अंकमा बन्द भएको छ ।
शुक्रबार हाइड्रोपावर, लघुवित्त र अन्य उपसूचकमा समान्य वृद्धि भएको छ । त्यसबाहेकका सबै उपसूचक घटेको छ । आइतबारदेखि बिहीबारसम्म दैनिक ४ घण्टा कारोबार हुने बजारमा शुक्रबार भने दुई घण्टा मात्रै कारोबार हुँदै आएको छ । बिहीबार १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार करिब ७० करोडको कारोबार भएको छ ।
शुक्रबार नेप्सेमा १८ लाख १ हजार २७३ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक १० करोड ४ लाख ९८ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड ३७ लाख ३ हजारको कारोबार भएको छ ।
शुक्रबार नेप्सेमा १८७ कम्पनीको सेयर किनबेच भएकोमा ९७ कम्पनीको सेयर मूल्य घटेको छ । ७३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १७ कमपनीको भने स्थिर छ । शुक्रबार कारोबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ९.८० प्रतिशतले वृद्धि हुँदा रुरु जलविद्युत् कम्पनीको ९.६७ प्रतिशत र सामुदायिक लघुवित्तको सेयर मूल्य ७।६१ प्रतिशतले बढेको छ ।