पार्टी, नेताभन्दा पनि अहिले जनताले हेर्ने भनेको विकास नै हो : प्रचण्ड

सहयात्रा टिभी

काठमाडौं । भदौ १८, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आमरुपमा राजनीतिक पार्टी, नेता, व्यक्तिभन्दा जनताले हेर्ने भनेको विकास नै भएको बताएका छन्।

शनिबार भरतपुरमा नेपाल विद्युत प्राधिकरणको विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शिलान्यास गर्दै प्रचण्डले सिंगै राष्ट्रका निम्ति विकास आवश्यक रहेको बताएका हुन्।

‘अहिले आमरुपमा पार्टी, नेता, व्यक्तिभन्दा पनि जनताले हेर्ने चाहिँ विकास नै भएको छ। समृद्धि नै भएको छ।’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारीमा के कति प्रगति भयो/भएन भन्नेनै भएको छ । जनताको सुरक्षालाई पार्टीहरुले, सरकारले या संस्थाहरुले के कति ध्यान दिए वा दिएनन् भन्ने कुरानै भएको छ ।’

राष्ट्र निर्माणको सन्दर्भमा राजनीतिक उतार चढावका बीच संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेपछि आफ्नो जोड स्थायित्वका साथै मुख्यतः विकास र समृद्धितिरै रहेको उनले बताए ।

विकास, सुरक्षा र समृद्धिको एउटा महान यात्रा चितवन र भरतपुर महानगरमा सुरु भएको उल्लेख गर्दै उनले यस कुरालाई जनताले राम्रैसँग महसुस गरेको तथ्य पनि गएको स्थानीय तहको निर्वाचनले प्रमाणित गरेको बताए।

‘विकास, सुरक्षा र समृद्धिको यो महान यात्रा जसरी चितवन र भरतपुर महानगरमा सुरु भएको छ ।’ उनले भने, ‘जनताले यो कुरालाई राम्रै महसुस गरेको तथ्य पनि गएको स्थानीय तहको निर्वाचनमा जनताले प्रमाणित गरेर देखाएको स्थिति पनि हामी सबैको अगाडि छ ।’

चितवन जिल्ला र भरतपुर महानगरपालिकाबाट देशभर नै विकास र समृद्धिको नयाँ सन्देश दिने आफ्नो संकल्प रहेको उनले बताए।

प्रकाशित : 3 September, 2022

प्रतिक्रिया दिनुहोस्