नक्कली नोटको नमुना कागजसहित एक जना पक्राउ

सर्लाही । भदाै १८, सशस्त्र प्रहरी बल सर्लाहीले जिल्लाको सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा नक्कली नोटको नमुना कागज बरामद गरेको छ । शुक्रबार नेपाल–भारत सीमावर्ती क्षेत्र सिमरा भगवतीपुरबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा नक्कली नोट बनाउने नमुना कागज बरामद् गरेको हो । गोडैता नगरपालिका–३, सिमरा भगवतीपुर बजारमा खटिएको सशस्त्र प्रहरीको टोलीले नक्कली नोट तयार गर्ने कागजको बण्डल बरामद गरेको सशस्त्र प्रहरी १० गणका गणपति एसपी भरत खनियाले बताए ।
सीमा सुरक्षा बेस (बीओपी) बहादुरपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक विद्याभुषण झाको नेतृत्वमा खटिएको टोलीले नक्कली नोट बनाउने कागजसहित एक जनालाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा नुवाकोट साविक ककनी गाविस वडा नम्बर–५, निवासी ३२ बर्षका हिरामान लामा रहेको प्रहरीले जनाएको छ । लामाले ठेगाना भने काठमाडौ महानगरपालिका–२६ बताएका छन् ।
लामा सवार रातो रंगको स्कार्पियोको डिक्की खोलेर शङ्कास्पद कार्टुन झिकेर चेक गर्न लाग्दा फरार भएको प्रहरीले जनाएको छ । उनीहरू स्कार्पियोमा बसेर सिमरा भगवतीपुर गाउँबाट सीमाक्षेत्रको बजारतर्फ जाँदै गर्दा पक्राउ परेका हुन् । स्कारपियो र चालकको समेत खोजी भइरहेको सशस्त्र प्रहरी १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खनियाले जानकारी दिए ।