करेन्ट लागेर विद्युत प्राधिकरणका प्राविधिकको मृत्यु

खोटाङ । भदौ २०, करेन्ट लागेर नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु भएको छ । विगत आठ नौ वर्षदेखि दैनिक ज्यालादारी प्राविधिककोरुपमा काम गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नबिन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा छापगाउँमा विद्युत मर्मतपछि भर्याङ ठड्याएर हिँड्नेक्रममा भर्याङले ११ केभी प्रशारण लाईनको तार छुनपुग्दा राईलाई करेन्ट लागेको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए ।
करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुईपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थप उपचारका लागि अन्य लैजाने तयारी हुँदाहुँदै राईलाई मृत घोषणा गरिएको थियो । अवरुद्ध विद्युत सुचारु गराउन र जलेको ट्रान्सफर्मर हेर्नका लागि राई सहित चार प्राविधिकको टोली बुईपा छापगाउँ पुगेका थिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ ।