अदालतले पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी गर्यो

काठमाडौं । भदौ २०,बुटवल, पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको जनाएको छ । साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यले प्रहरीको मिलेमतोमा दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाएको आरोपमा गुप्तालाई पक्राउ पुर्जी जारी भएको जनाएको छ ।
पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् । उनी फरार भएपनि एक हप्ताभित्र मुद्दा दर्ता गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको र उनीहरू निर्दोष देखिएको प्रहरी उच्च स्रोतले बताएको छ । तर उनीहरु दुई महिनादेखि प्रहरी हिरासतमा रहेको जनाएको छ ।
अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
रामा गुप्ताले अध्यक्ष बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने थियो । थुनामा रहनुभन्दा अघि गुप्ता र पासवानले अध्यक्ष गुप्तासँग कवाड सामानको कारोबार गर्दै आएका थिए । तर, नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमतिलाई बेवास्ता गर्दै रकम दिन आलटाल गर्दै आएका थिए ।