महिला साफ च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

सहयात्रा टिभी

काठमाडौं । भदौ २१, महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने छैटौं संस्करणको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका छ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान खेल्ने छन्। खेल साँझ ५:३० बजे सुरु हुनेछ।

साविक उपविजेता नेपाल भुटानलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा हुनेछ। तर, अन्डर डग टोली भुटानविरुद्ध नेपाल शतर्क भएर खेल्नेछ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ।

समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ।

यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ।

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल खेल असोज ३ गते हुनेछ।

नेपाल यस पटक उपाधि घरमै राख्ने योजनामा समेत रहेको छ। नेपाली टिमकी नवनियुक्त कप्तान एन्जिला सुब्बाले उपाधि घरमै राख्न प्रयास गर्ने बताएकी थिइन्।

यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ।

प्रकाशित : 6 September, 2022

प्रतिक्रिया दिनुहोस्