बोर्डको अध्यक्षतामा डेढ महिना वितीसकेपनि लय समात्‍न सकस:  भुवन केसी

सहयात्रा टिभी

काठमाडौं । भदौ २१, भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष बनेको डेढ महिना वितीसके पनि लय समात्‍न सकसमा देखिएका छन् । साउन ९ गते अध्यक्षमा नियुक्त भएयता कार्यभार सम्हाल्दै गर्दा उनले नेपाली फिल्म क्षेत्रको विकासका लागि शहीद हुन समेत आफू तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

‘बिहानीले दिउँसोको संकेत गर्छ भनेजस्तै भुवनजीको दुई वर्षे कार्यकालको डेढ महिना अनुत्पादक रुपमा सकिएको छ,’ भुवन निकट स्रोत भन्छ, ‘उहाँ साना-साना काममा अलमलिनु भएको छ । उहाँले समय खेर फाल्दा, फिल्म उद्योगको समय खेर जान्छ ।’ अदालतमा भुवनविरुद्ध मुद्दा विचाराधीन भएकाले उनले अध्यक्षको रुपमा ठूला निर्णय गर्न नसक्ने कतिपय बताउँछन् ।

दाबेदारको रस्साकस्सीबीच अध्यक्षमा मनोनित केसीको नियुक्तिलाई लिएर चलचित्र वृत्तमा ठूलो आशा थियो । तर झन्डै दुई महिना लाग्दा पनि भुवनले कार्यकालमा आफूले गर्ने स्पष्ट खाका र योजना ल्याउन सकेका छैनन् । उनी स्वयंले घोषणा गरेको चर्चित गोलमेच कार्यक्रम पनि अहिलेसम्म हुन सकेको छैन । बरु उनी दुई महिना हुनै लाग्दा पनि कम्पासबिनाको जहाजजस्तै अन्योल देखिएका छन् ।

डेढ महिनाको चित्र हेर्दा अध्यक्षको रुपमा भुवन अझै लयमा बग्न सकेका छैनन् । कार्यकारी अध्यक्षको रुपमा बोर्डको नेतृत्व सम्हालेका उनले अझै प्रशासनिक कामकुरा सिक्दैछन् । स्पष्ट शब्दमा भन्नुपर्दा भुवनको डेढ महिना अनुत्पादक कामकाजमै व्यतित भएको देखिन्छ ।

 

प्रकाशित : 6 September, 2022

प्रतिक्रिया दिनुहोस्