राष्ट्र बैंकले सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गर्यो नक्कली ऋणी खडा गरेर कर्जा दुरुपयोग

सहयात्रा टिभी

काठमाडौं । भदौ २२, नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरूपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको र प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले २२ भदौमा एक सूचना प्रकाशित गर्दै भनेको छ, ‘संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख), (घ), (च) तथा (ञ) को अवस्था विद्यमान रहेको देखिएकाले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको छ ।’

२ चैत २०७८ मै संस्थालाई शीघ्र सुधारात्मक कारबाही विनियमावली २०७४ अनुसार कारबाही गरी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ अनुसार समस्याग्रस्त घोषण गर्नुपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिएको भए पनि संस्थाले दिएको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले समस्याग्रस्त वित्तीय संस्था घोषणा गर्नुपरेको जनाएको छ ।

प्रकाशित : 7 September, 2022

प्रतिक्रिया दिनुहोस्