बलिउड फिल्म एनिमलमा विपिन खेल्ने पक्का, प्रसाद २मा फर्कन निधो

सहयात्रा टिभी

काठमाडौँ । भदौ २२, अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा रणवीर कपुर र अनिल कपुरसँग स्क्रिन सेयर गर्ने निश्चित भएको छ । निर्देशक सन्दीप रेड्डी भांगासँग मुम्बईमा मिटिङ भएपछि मंगलबार स्वदेश फर्किएका उनले यस्तो जानकारी दिएका हुन् ।

आगामी असोजदेखि विपिन छायांकन सेट ज्वाइन गर्नेछन् । एनिमलमा उनले बबी देओलको भाइको चरित्रमा अभिनय गर्दैछन् । फिल्मले दुई ग्याङको कथा भन्छ । दिल्ली र मुम्बईमा २० दिने सुटिङ तालिका रहेको फिल्ममा भने उनी रश्मिका मन्दानासँग नदेखिने भएका छन् ।

‘कबीर सिंह’ फेम्ड निर्देशकले आफूलाई अन्य फिल्ममा पनि दोहोर्‍याउन इच्छा देखाएको पनि उनले बताए । ‘उहाँले सेल्फी किङ मात्र हेरेर मलाई अहिलेसम्म निर्णय गर्नुभएको रहेछ । अन्य भिडियो हेरेपछि अरु प्रोजेक्टमा पनि लिन इच्छा देखाउनुभएको छ,’ उनले भने ।

यसैबीच, विपिनले विवादको कारण छायांकन स्थगित भएको फिल्म ‘प्रसाद २’को छायांकनमा फर्कन आफू सकारात्मक रहेको र छलफल गरेर निधो दिने बताएका छन् । निर्माण कम्पनी सुवास थापा प्रोडक्सनले निर्माता संघमा विपिनविरुद्ध उजुरी दिएपछि संघले आगामी साता विपिनलाई छलफलमा बोलाएको छ । सोहीअनुसार संघ, विपिन र थापाबीच त्रिपक्षीय छलफल हुने भएको छ ।

 

 

प्रकाशित : 7 September, 2022

प्रतिक्रिया दिनुहोस्