भाडा वृद्धिको माग गर्दै  पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनको घोषणा

सहयात्रा टिभी

काठमाडौँ । भदौ २२, पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग गर्दै फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

महासंघले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको हो । बुधबार बसेको महासंघको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए ।

’महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज एक गतेबाट देशभरको ढुवानी ठप्प बनाउने अध्यक्ष बोहोराले बताए ।

ढुवानी भाडा वृद्धिका लागि यसअघि चार पटक आन्दोलन गरिएको र त्यसमा निगमले पटक पटक सहमति जनाएर पनि कार्यन्वयन नभए पछि पाँचौं पटक आन्दोलनको घोषणा गर्नुपरेको महासंघको भनाइ छ ।

निगमले ढुवानी भाडा बढाउन यस अघि ९ पटक समझदारी गरेर पनि पुरा नगरेको अध्यक्ष बोहोराले आरोप लगाए । महासंघले रुटअनुसार कम्तीमा ३ देखि १० प्रतिशतसम्म ढुवानी भाडा बढाउन माग गर्दै आएको छ ।

 

प्रकाशित : 7 September, 2022

प्रतिक्रिया दिनुहोस्