मापदण्डमा बनेका भवनको ९० दिनभित्रमा नक्सा पास गर्न काठमाडौं महानगरको निर्देशन

सहयात्रा टिभी

काठमाडाै । भदाै २३, अनधिकृत संरचना हटाउन तदारुकता देखाएको काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले ९० दिनभित्र नक्सा पास गर्न बिहीवार सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र मा नक्सा पेस गरी नक्सा स्वीकृत गर्न आग्रह गरेको छ ।

तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार ऐन २०७४ र प्रचलित भवन निर्माण मापदण्ड, संहिता, कार्यविधि र कार्यालयको निर्णय बमोजिम कारबाही गरिनेसमेत महानगरको शहरी व्यवस्थापन विभागले जनाएको छ ।

त्यसैगरी महानगरपालिकाले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन सूचना निकालेको छ । महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो ।

कतिपय पर्खालहरु नक्सा पास नगरि निर्माण भएका पाइएकोले सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाउन सूचित गरिएको छ ।

प्रकाशित : 8 September, 2022

प्रतिक्रिया दिनुहोस्