कासका डाक्टर सहित ६० जनाको सामूहिक राजीनामा, इमरजेन्सी बाहेकका सबै सेवा ठप्प

सहयात्रा टिभी

काठमाडौ । भदौ २३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)का डाक्टर र कर्मचारीहरु गरी ६० जनाले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार बेलुका उपकुलपति मंगल रावल समक्ष सामूहिक राजीनामा बुझाएका डाक्टर र कर्मचारीहरुले इमरजेन्सी बाहेकका सबै सेवा ठप्प पारेको अस्पतालका प्रवक्ता डा. रमेश भट्टराईले जानकारी दिए ।

सामूहिक राजीनामा दिनुको प्रमुख कारण भने भदौ २ गते इमरजेन्सी विभागमा कार्यरत डाक्टर करण साहमाथि कुटपिटको घटना रहेको चिकित्सकहरुले बताएका छन् । भदौ २ गते डा. शाहमाथि प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए ।

इमरजेन्सी कक्षमा डाक्टर साहलाई हातपात गरेको भिडियो बाहिरिएपछि चिकित्सकहरुले कर्मचारी शाहीलाई कारबाहीको माग गर्दै आन्दोलित भएका थिए । डाक्टर साहले आफूमाथि ड्युटी समयमा हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएका थिए । तर मंगलबार जिल्ला अदालत जुम्लाले डा.साहलाई नै नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेपछि डाक्टर र कर्मचारीहरु एकाएक सशांकित भए ।

 

प्रकाशित : 8 September, 2022

प्रतिक्रिया दिनुहोस्