धनगढीमा ‘कार्टुन प्रदर्शनी’भ्रष्टाचारविरुद्ध

धनगढी । भदाै २६, देशव्यापी रूपमा सञ्चालन भएको भ्रष्टाचारविरुद्ध ‘कार्टुन प्रदर्शनी’ धनगढीमा पनि आयोजना गरिएको छ । शुक्रबार र शनिबार दुई दिनको प्रदर्शनीसँगै देशव्यापी ‘कार्टुन चित्र प्रदर्शनी’ अभियान समापन भएको हो ।
नेपाल पत्रकार महासंघको एसोसिएट संगठन कार्टुनिष्ट क्लब नेपालले देशका सातवटै प्रदेशमा भ्रष्टाचार विरोधी व्यंग्यात्मक तथा सचेतनामूलक कार्टुन चित्र प्रदर्शनी अभियान सञ्चालन गरेको हो । संघीय संसदका सभामुख अग्नि सापकोटाले काठमाडौंमा उद्घाटन गरेको अभियानको अन्तिम तथा सुदूरपश्चिम संस्करण प्रदेश सभाका उपसभामुख निर्मला जोशीले उद्घाटन गरेकी थिइन् ।
प्रदर्शनीमा देशका प्रसिद्ध ३५ कलाकारका ५० बढी व्यंग्यचित्र प्रदर्शनीमा राखिएका थिए । साथै, स्थानीय विद्यालय तथा कलेजका केही विद्यार्थीका सृजनात्मक चित्रहरू पनि प्रदर्शनीमा सहभागी गराइएको थियो । धनगढीमा सञ्चालन भएको कार्यक्रममा प्रख्यात कार्टुनिष्टहरू अबिन, बासु क्षितिज, देवेन्द्र थुम्केलीलगायत वरिष्ठ कार्टुनिष्टको उपस्थिति रहेको थियो । साथै, प्रदर्शनीमा स्थानीय कलाकर्मीको पनि उपस्थिति रहेको थियो ।
धनगढीका विभिन्न विद्यालय, क्याम्पसका विद्यार्थी, राजनीतिकर्मी, शिक्षक प्राध्यापक, कर्मचारी, सामाजिक संघसंस्था सम्बद्ध व्यक्तिलगायतले व्यंग्यचित्र अवलोकन गरेका थिए ।
कार्यक्रमको समापनमा कान्तिपुर दैनिकका वरिष्ठ कार्टुनिष्ट अविनले सुदूरपश्चिममा पुगेर प्रदर्शनीमा सहभागी हुँदा आफूहरूलाई नितान्त नयाँ अनुभव भएको सुनाए । कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिजले आफूहरू आगामी दिनमा वार्षिक योजना अनुरूप निरन्तर सुदूरपश्चिम आउन चाहेको बताए । क्लबका अध्यक्ष देवेन्द्र थुम्केलीले अभियानको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रम अवलोकनकाक्रममा धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले राष्ट्रका धेरै अभियान कर्णाली पारीबाटै फर्किने र सुदूरपश्चिमलाई देश नै नठान्ने गरेकामा कार्टुनिष्ट क्लबको अभियान सुदूरपश्चिमसम्म पुगेको भन्दै प्रशंसा गरे । आगामी दिनमा नगरपालिकाको योजनामै यस्ता कार्यक्रम राखेर सञ्चालन गर्नेसमेत उनले आश्वासन दिए ।
कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले शिक्षण संस्थाभित्र यस्ता कार्यक्रम नियमित सञ्चालन गर्न पहल गर्ने बताए । कार्यक्रमको समापनमा नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्टले राजनीतिक रूपमा र नीति निर्माण प्रक्रियामा यस्ता अभियानको निरन्तरता तथ भ्रष्टाचार उन्मुलनका योजना तर्जुमाको लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मन्तव्य राख्ने राजनीतिक दल तथा संघसंस्था सम्बद्ध विभिन्न व्यक्तिले आफू कहिले भ्रष्टाचार नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे । धनगढीमा कार्यक्रम संयोजन गरेको सृजनशील मञ्चका अध्यक्ष तथा लेखक जनक रसिकले सुदूरपश्चिममा यस प्रकारका प्रदर्शनी पहिलोपटक भएको तथा स्थानीय सर्जकका लागि नितान्त नयाँ अनुभव भएको बताए । उनले यस्ता कार्यक्रमबाट धेरै कुरा सिक्न सकिने भएकाले आगामी दिनमा स्थानीयस्तरमै ‘कार्टुन प्रदर्शनी’ को आयोजना गर्ने पनि बताए ।