चिनियाँ जनकंग्रेसका अध्यक्ष ली आज नेपाल आउँदै
काठमाडौं । भदौ २७, चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउँदैछन्। सभामुख अग्निप्रसाद सापकोटाको निम्तामा आउन लागेका ली चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेतासमेत हुन् ।
रुस र मंगोलियाको भ्रमण सकेर काठमाडौं आउन लागेका लीको साथमा करिब १ सय जनाको टोली रहनेछ। आगामी १६ अक्टोबरमा सीपीसीको २०औं राष्ट्रिय महाधिवेशन गर्ने तयारी चलिरहेका बेला अहिले चान्सु नेपाल भ्रमणमा आउन लागेका हुन् ।
संवैधानिक रूपमा राष्ट्रपति सी चिनपिङपछि दोस्रो वरियतामा रहेका ली पार्टीको प्रभावशाली राजनीतिक ब्युरोका सात सदस्यमध्ये एक हुन्। सोमबारै सभामुख सापकोटा र लीबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।
भ्रमणको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग भेटवार्ता गर्नेछन्। साथै, प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेट हुने बताइएको छ।
नेपाल र चीनका शासन र सुशासनका अनुभव, सांसदबीच भ्रमण आदानप्रदान, जलवायु परिवर्तन, द्विपक्षीय राजनीतिक तथा आर्थिक सम्बन्ध, विगतमा भएका सहमति कार्यान्वयन र अन्तर्राष्ट्रिय परिस्थिति लगायत मुद्दामा सापकोटा र लीबीच छलफल हुने सापकोटानिकट स्रोतको भनाइ छ ।
लीको सम्मानमा सोमबार सापकोटाले रात्रिभोजको आयोजना गरेका छन् ।
यसअघि गत चैत महिनामा विदेशमन्त्री वाङ यी र असार अन्तिम साता सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भ्रमण गरेका थिए । राष्ट्रपति सीले भने २०७६ सालको असोज २५ देखि २७ गतेसम्म नेपालको राजकीय भ्रमण गरेका थिए । त्यसपछि चीनबाट विभिन्न तहका भ्रमणहरू निरन्तर भइरहेका छन् ।