राष्ट्रिय प्रसारण प्रणालीमा देशकै ठूलो सोलार फार्म बाट २५ मेगावाट विद्युत उत्पादन
काठमाडौं । भदौ २७, नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
एक वर्षभित्र काम सम्पन्न गर्ने भनेर १४ वैशाख २०७५ मा शिलान्यास गरिएको फार्मबाट साढे तीन वर्षपछि लक्ष्यअनुसार २५ मेगावाट विद्युत्को परीक्षण उत्पादन भइरहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए ।
उनका अनुसार विभिन्न सात ब्लकमा स्थापना गरिएका सौर्य फार्मबाट सुरु भएको परीक्षण उत्पादन सफल ठहरिएको छ । फार्मबाट उत्पादित विद्युत् विदुर नगरपालिका–६ स्थित देवीघाट जलविद्युत् केन्द्रमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
आयोजनाको पूर्ण क्षमता (२५ मेगावाट) गत १० भदौमा थालिएको परीक्षण उत्पादन दुई सातासम्म नियमित भएसँगै सफल ठानिएको छ । सोलार आयोजनाबाट उत्पादित विद्युत् फार्मले आफैंले निर्माण गरेको ३३र६६ केभी २५ एमभिए क्षमताको सब–स्टेशनबाट अपग्रेड गरेर एक सय मिटर दूरीमा अवस्थित देवीघाट विद्युत् गृहको सबस्टेशनसम्म भूमिगत प्रसारण लाइनमार्फत पुर्याएर त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।