चारदिने भ्रमणको लागि चिनियाँ जनकंग्रेस अध्यक्ष ली काठमाडौं आइपुगे

सहयात्रा टिभी

काठमाडौं । भदौ २७, चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चारदिने भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् ।

उनी विमानस्थलबाट सिधै उनको बस्ने व्यवस्था गरिएको होटल सोल्टी गएको जानकारी प्राप्त भएको छ । कार्यसूचीअनुसार उनले सोमबार काठमाडौं उत्रिएको केहीबेरमा सभामुख सापकोटासँग द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ । परराष्ट्र स्रोतका अनुसार द्विपक्षीय भेटघाटका क्रममा दुई देशबीच संसदीय तहमा सहकार्य गर्ने विषयमा हस्ताक्षरसमेत हुने सचिवालयले जनाएको छ ।

भ्रमणको दोस्रो दिन बिहान ९ बजे लीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले संसद भवनमा नै नेकपा एमाले अध्यक्ष केपीओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।

भ्रमणको तेस्रो दिन उनी बुधबार बिहान भक्तपुर भ्रमण गर्नेछन् । त्यसपछि सोही दिन अपरान्ह ४ बजे राष्ट्रपतिसँग भेट गर्ने र लगतै संसद भवनमा समकक्षी सापकोटासँग पुन: भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि बिहीबार बिहान चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

 

प्रकाशित : 12 September, 2022

प्रतिक्रिया दिनुहोस्