चिनियाँ नेता लीको यस्तो छ आजको उच्चस्तरीय राजनीतिक भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । भदौ २८, चार दिने नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले मंगलबार पनि उच्चस्तरीय राजनीतिक भेटघाटलाई निरन्तरता दिने भएका छन्।

सोमबार दिउँसो ३ बजे काठमाडौं ओर्लिएका लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्दैछन्। उनले मंगलबारै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। यो भेटवार्ता संसद् भवनमा हुने जानकारी दिइएको छ।

यस्तै, बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष ली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानेछन्। लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि शिष्टाचार भेट गर्नेछन् ।

यसअघि सोमबार उनले सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए। वार्तापछि सभामुख सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए ।

प्रकाशित : 13 September, 2022

प्रतिक्रिया दिनुहोस्