महाअभियोग सिफारिस समितिको बैठक बस्दै, सवाल र जवाफ आजै सकिने

सहयात्रा टिभी

काठमाडाै । भदाै २८, निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरूद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले तयार गरेका प्रश्नहरुको बयान लिनेछ । जबराले अब बाँकी ८ वटा प्रश्नको जवाफ दिनुपर्नेछ । आइतबार चौथो दिन उनले महाभियोग सिफारिस समितिको बैठकमा बयान दिए । बयान नसकिएकाले मंगलबार थप बयान हुने तय भएको हो ।

सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बताए ।

आफ्ना मान्छेलाई न्यायाधीश नियुक्ति गरेको भन्ने आरोप छ नी भन्ने प्रश्नमा जबराले भने, ‘नेपालको संविधानविपरीत मैले केही गरेको छैन, हरेक पार्टीमा बारका पदाधिकारीको आकांक्षा हुन्छ, हरेक पार्टीले न्यायाधीश नियुक्तिका लागि नाम नै पठाएका हुन्छन्, मैले गरेको काम सबै छर्लङ्ग छ ।’

उनले आफूले संविधान र कानुनबमोजिम काम गरेको बताए । ‘मंगलबार सवाल र जवाफ सकिनेछ, बाँकी काम अघि बढाइनेछ,’ समितिका सचिव लक्ष्मीप्रसाद गौतमले भने । उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । जबराविरूद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

संसदले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो । जबराविरुद्ध नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।

प्रकाशित : 13 September, 2022

प्रतिक्रिया दिनुहोस्