बार्यनसँग बार्सिलोना स्तब्ध हुँदा लिभरपुलको पहिलो जित

एजेन्सी । भदौ २९, च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा जर्मन महारथी बायर्न म्युनिखले बार्सिलोनामाथि जित निकालेको छ।
मंगलबार राति सम्पन्न खेलमा बायर्नले क्याटलान क्लब बार्सिलोनालाई २-० गोलले पराजित गरेको हो।
म्युनिखको मैदान एलियान्ज अरिनामा भएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
दोस्रो हाफको सुरुवातमा चार मिनेटको अन्तरमा बायर्नले दुई गोल गरेको हो। ५० औं मिनेटमा लुकास हर्नान्डेजले र ५४ औं मिनेटमा लेरोई सानेले गोल गर्दै बायर्नलाई जित दिलाए।
खेलमा पकड जमाएको बार्सिलोनाले पटक-पटक गोल गर्ने अवसर प्राप्त गरेपनि त्यस अवसरलाई सदुपयोग गर्न सकेन।
जितसँगै समूह सीमा बायर्न लगातार दोस्रो जित निकाल्दै ६ अंकसहित शीर्षस्थानमा छ । बार्सिलोना भने ३ अंक सहित दोस्रो स्थानमा छ।
यसै समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले चेक क्लब भिक्टोरिया प्लेजनलाई पराजित गर्दै ३ अंक जोडेको छ ।
समूह ‘ए’ को खेलमा भने लिभरपुलले जित निकालेको छ। अयाक्समाथि २-१ गोलको जित निकाल्दै लिभरपुलले महत्वपूर्ण ३ अंक जोडेको छ।
खेलको १७ औँ मिनेटमा मोहम्मद सलाहको गोलबाट लिभपुरलले अग्रता बनाएको थियो। २७ औँ मिनेटमा एम कुदुसले गोल फर्काउँदै अयाक्सलाई १-१ को बराबरीमा ल्याए। तर, ८९ औँ मिनेटमा जोएल मातिपले निर्णायक गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे।