शिक्षक सेवा आयोग नतिजाको तथ्यांकमा विषय शिक्षकको अभाव देखियो

काठमाडौं । भदौ ३०, शिक्षक सेवा आयोगको सार्वजनिक गरेको माध्यमिक तह तृतीय श्रेणीको नतिजा अनुसार विद्यालय तहमा फेरि पनि शिक्षक अभाव हुने तथ्यांकमा देखिएको छ । आयोगले गत असार ९ गते लिएको विषयगत परीक्षामा चाहिए जति परीक्षार्थी उत्तीर्ण हुन नसकेपछि विषय शिक्षक पाउनै सकस देखिएको छ ।
नेपाली विषय शिक्षकको २३१ रिक्त दरबन्दीको लागि १० हजार १३७ आवेदन परेकोमा २२९ जना मात्र अन्तर्वार्तासम्म पुगे । गणित विषयको २८९ शिक्षकका लागि ३ हजार ७५० आवेदन परेकोमा जम्मा १४१ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् । त्यस्तै, ४३५ पद रिक्त विज्ञान शिक्षकको लागि २ हजार ८० आवेदन परेकोमा ३८३ जना मात्रै उत्तीर्ण भएका छन् ।
आयोगको तथ्यांकअनुसार आवेदन दिने पर्याप्त भए पनि उत्तीर्ण हुने संख्या ज्यादै न्यून छ । आयोगले २०७८ माघमा माध्यमिक तहमा एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि विज्ञापन खुला गरेको थियो । २०७८ चैत १५ गते सञ्चालित सामान्यतर्फको परीक्षामा ३२ हजार ९७ जना सहभागी भएकामा ३ हजार ८८६ मात्र उत्तीर्ण भए ।